काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालमा रु चार खर्ब ३६ अर्ब ३६ करोड विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को दुई महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३.९ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो।

राष्ट्र बैंकका अनुसार भदौ महिनामा मात्रै रु दुई खर्ब २१ अर्ब ३१ करोड विप्रेषण भित्रिएको छ। अघिल्लो आर्थिक वर्षको भदौ महिनामा विप्रेषण आप्रवाह रु एक खर्ब ७४ अर्ब ६७ करोड रहेको थियो। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.५ प्रतिशतले वृद्धि भई दुई अर्ब ८५ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह २७.६ प्रतिशतले बढेको थियो। साथै, समीक्षा अवधिमा खुद द्वितीय आय रु चार खर्ब ६९ अर्ब ४४ करोड पुगेको केन्द्रीय बैंकले जनाएको छ।

यसैबीच, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ७८ हजार ३२० र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५१ हजार १३६ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ९० हजार १९८ र ४५ हजार ८८४ रहेको थियो।