प्रहरीले सुनसरीको इनरुवा नगरपालिका-४ ज्ञानोदय टोलबाट आइतबार दिउँसो साढे १ बजे ९१५ किलो ६८० ग्राम गाँजासहित चार जनालाई पक्राउ गरेको छ। इनरुवाको हनुमान मन्दिर नजिकैका स्थानीय बुलबुल यादवको घरमा गाँजा बिक्री वितरण भइरहेको सूचना पाएपछि प्रहरीले घरको खानतलासी गर्दा उक्त परिमाणमा गाँजा बरामद भएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक सूचना अधिकारी हेमराज ओलीका अनुसार चाडबाडको बेला प्रहरीलाई छलेर भारतीय सीमा कटाउने तयारी भइरहेको बेला भारी मात्रामा गाँजा बरामद भएको हो।

उनका अनुसार बुलबुल यादवको घरको कोठामा खानतलासी गर्दा फेला परेको गाँजासहित इनरुवा नगरपालिका-४ बस्ने ३६ वर्षीय घरधनी बुलबुल यादव, २३ वर्षीय सन्तोष यादव, ३० वर्षीय आशिष यादव र दुहबी नगरपालिका-१० बस्ने २२ वर्षीय कुन्दन यादवलाई नियन्त्रणमा लिइएको छ। उनीहरूलाई लागुऔषध गाँजा ओसारपसार र बिक्री वितरण गरेको आरोपमा नियन्त्रणमा लिइएको हो।

प्रहरीले उनीहरूको साथबाट प्र.१-०२-००१ प ९१९९ नम्बरको एक थान मोटरसाइकलसमेत बरामद गरेको छ। बरामद गाँजा, मोटरसाइकल र नियन्त्रणमा लिइएका चारै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।