कुलेखानी जलाशयमा जलसतह बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले बागमती नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। शनिबार दिउँसो सूचना जारी गर्दै प्रशासनले बाँधका मुख्य ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने भएकाले नदी किनारका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा रहन अपिल गरेको हो।

नेपाल विद्युत् प्राधिकरणका अनुसार शनिबार दिउँसो १२ बजे जलाशयको जलसतह १ हजार ५२८.१५ मिटर पुगेको थियो। जलसतह १ हजार ५२८.५० मिटर पुगेपछि पूर्वसतर्कताका लागि साइरन बजाउने र एसएमएसमार्फत सूचना प्रवाह गर्ने व्यवस्था छ।

बाँधका ढोका खोल्नुपरे सिस्नेरी खोला र बागमती नदीमा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा आवतजावत नगर्न, माछा नमार्न, दाउरा संकलन नगर्न तथा चौपाया नचराउन प्रशासनले अनुरोध गरेको छ।