बाराको फेटा गाउँपालिकामा १५ बेडको नवनिर्मित अस्पताल उद्घाटनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका कार्यकर्ताहरूबीच तीव्र झडप भएको छ। शनिबार बिहान भएको उक्त झडपका क्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक युवक घाइते भएका छन् भने ढुंगामुढा प्रहारबाट पाँचजना प्रहरी घाइते भएका छन्। झडपका क्रममा आक्रोशित प्रदर्शनकारीहरूले अस्पताल परिसरमा तोडफोड गर्नुका साथै त्यहाँ राखिएका १० वटा मोटरसाइकलमा आगजनीसमेत गरेका छन्।

प्रहरीले चलाएको गोली लागेर बाराको फेटा गाउँपालिका वडा नम्बर ३ का १५ वर्षीय आदित्य पासवान घाइते भएका हुन्। मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभु प्रसाद ढकालका अनुसार गोली पासवानको एउटा तिघ्रामा लागेको छ। घाइते पासवानको हाल वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ। झडप नियन्त्रणमा लिने क्रममा प्रदर्शनकारीले हानेको ढुंगामुढा लागेर पाँचजना प्रहरी कर्मचारीसमेत घाइते भएको प्रवक्ता एसएसपी ढकालले जानकारी दिएका छन्।

फेटा गाउँपालिकामा निर्माण सम्पन्न भएको १५ शय्याको अस्पताल उद्घाटन गरी पालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको थियो। उक्त गाउँपालिका विवेकशील साझा पार्टीबाट जितेका जनप्रतिनिधि रहेको पालिका हो, जुन पार्टी पछि राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएको थियो। यसै आधारमा रास्वपाको प्रतिनिधित्व रहने उक्त पालिकामा अस्पताल उद्घाटनका लागि साविक विवेकशील साझाकी नेतृ तथा वर्तमान रास्वपा प्रतिनिधि सभा सदस्य समीक्षा बास्कोटा पुगेकी थिइन्।

स्थानीय प्रशासनका अनुसार उक्त उद्घाटन कार्यक्रम रोक्न र अस्पतालको शिलालेखमा कोरिएको नाम हटाउन निवर्तमान गाउँपालिका अध्यक्ष अमिरीलाल साह कानु पक्षधरले माग गर्दै आएका थिए। नेकपा एमालेबाट निर्वाचित निवर्तमान अध्यक्ष कानुको कार्यकालमा सो अस्पताल निर्माणको थालनी भएको थियो। त्यसैले एमाले नेता तथा कार्यकर्ताहरूले रास्वपा सांसदले अस्पताल उद्घाटन गर्न नपाउने भन्दै पहिले नै कार्यक्रम बिथोल्ने चेतावनी दिँदै आएका थिए।

बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार रास्वपाकी सांसदले हस्पिटल उद्घाटन गर्ने कार्यक्रम तय भएपछि स्थानीय एमाले नेताहरूले दुई दिनअघि नै जिल्ला प्रशासन कार्यालय पुगेर कार्यक्रम बिथोल्ने चेतावनी दिएका थिए। उक्त विरोध प्रदर्शनको नेतृत्व एमाले नेताहरूसँगै स्थानीय शिक्षक लालबाबु साहले समेत गरेका थिए। साह बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहा स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन्। माध्यमिक तह द्वितीय श्रेणीका शिक्षक रहेका उनी आफैं प्रशासन कार्यालय पुगेर चेतावनी दिएको प्रजिअ अधिकारीले बताए।

शिक्षण पेशामा आबद्ध व्यक्ति प्रत्यक्ष रूपमा राजनीतिक गतिविधि र विरोधमा प्रस्तुत भएको विषयमा जिल्ला प्रशासन कार्यालयले दुई दिनअघि नै शिक्षा विकास तथा समन्वय इकाई बारालाई पत्राचार गरी जानकारी गराएको बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले बताएका छन्। उनका अनुसार राजनीतिक गतिविधिमा संलग्न शिक्षकका विषयमा सम्बन्धित शिक्षा कार्यालयलाई पूर्वजानकारी गराइसकिएको थियो।

घटनाको सम्बन्धमा मधेश प्रदेश प्रहरी प्रवक्ता एसएसपी ढकालले निवर्तमान पालिका अध्यक्षको नेतृत्वमा करिब अढाइ सय जनाको संख्यामा आएका मानिसहरूले कार्यक्रम स्थलमा आक्रमण गरेपछि झडप सिर्जना भएको जानकारी दिएका छन्। अस्पताल परिसरमा राखिएको शिलालेख र उद्घाटनका लागि तयार पारिएको टेण्ट तोडफोड भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठीचार्ज गर्दै भीड तितरबितर पारेको प्रजिअ अधिकारीले जानकारी दिए। सोही क्रममा आक्रोशित बनेका प्रदर्शनकारीले अस्पताल परिसरभित्र रहेका १० वटा मोटरसाइकलमा आगजनी गरेका थिए।

झडपका क्रममा अस्पताल परिसरभित्रै थुनिन पुगेका १० जना स्वास्थ्यकर्मी तथा केही सुरक्षाकर्मीलाई प्रहरीले सुरक्षित रूपमा उद्धार गरेको छ। घटनापछि सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ। बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार हालसम्म घटनामा संलग्न कसैलाई पनि पक्राउ गरिएको छैन र प्रहरीले सम्पूर्ण घटनाक्रमबारे सूक्ष्म अनुसन्धान गरिरहेको छ।