भारतीय अभिनेता सलमान खानले आफू पिता बन्ने इच्छा रहेको बताएका छन्। लोकप्रिय टक शो ‘कफी विथ करण’को नवौँ सिजनको पहिलो अतिथिका रूपमा उपस्थित भएका उनले आफ्नो जीवनका विभिन्न पक्षबारे खुलस्त कुरा गरेका हुन्। कार्यक्रममा होस्ट करण जोहरले सलमानलाई विवाह र एक्लोपनबारे प्रश्न सोधेका थिए। जवाफमा सलमानले आफू अहिलेको जीवनसँग खुसी रहेको तर भविष्यमा सन्तान हुने विश्वास व्यक्त गरे।

करण जोहरसँगको कुराकानीमा सलमानले भने, पक्कै, कुनै न कुनै दिन मेरा सन्तान हुनेछन्। करण, तिमी पिता बन्दा मलाई निकै खुसी लागेको थियो। हो, सन्तान त अवश्य आउनेछन्। कार्यक्रममा सलमानलाई जीवनसाथी नहुँदाको एक्लोपनबारे पनि सोधिएको थियो। उनले कोही पनि आफूसँग बस्न नचाहनु नै वास्तविक एक्लोपन भएको बताउँदै आफूलाई त्यस्तो महसुस नभएको स्पष्ट पारे।

सोही एपिसोडमा सलमानका निकट मित्रहरू सञ्जय दत्त, बबी देओल र वरुण धवनका भिडियो सन्देशहरू पनि प्रस्तुत गरिएको थियो। अभिनेता सञ्जय दत्तले सलमानलाई अब एक ‘सानो सलमान’ ल्याउन सुझाव दिएका थिए। जिओहटस्टारमा प्रसारण भइरहेको यो कार्यक्रममा अभिनेत्री करिश्मा कपुरको पनि विशेष उपस्थिति रहेको थियो।